नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन हुँदै


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित




फाइल फोटो

नेपालमा पहिलो पटक मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको हो।

मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको छ।

मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्युदर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहँुचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिए। उनले मातृ मृत्यु दरको अध्ययनका लागि अहिले स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको बताए। अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई यही असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म संघीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ। उनले जनगणनाबाट प्रतिवेदन तयार पारिने र सोही प्रतिवेदन अनुसार मातृ मृत्यु रोकथामका लागि कार्यक्रम संचालन गरिने बताए।

मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा हुन लागेको यो अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन्। नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका संख्या पत्ता लगाउने र त्यसपछि ती पत्ता लगाइएका मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा संपूर्ण विवरण लिइनेछ।

महिला गर्भवती, प्रसूति, सुत्केरी भएको छ हप्ताभित्र र अन्य अवस्थामा भएको मातृमृत्यु दरको अध्ययन गरिनेछ। कात्तिक २५ देखि मंसीर ९ सम्म (१५ दिन) मातृ मृत्यु भएको घरपरिवारको पहिचान गर्ने र त्यसपछि कात्तिक २६ देखि मंसीर मसान्तसम्म ती मातृ मृत्युदर के कसरी भयो भनेर मौखिक परीक्षण प्रश्नावली गरिनेछ।

अध्ययनका लागि ८ सय ४७ जना सर्वेक्षक परिचालन गरिनेछ। महानगरपालिकामा ४, उपमहानगरपालिकामा ३ र नगरपालिका तथा गाउँपालिकामा १/१ स्वास्थ्यकर्मी खटिनेछन्। नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २ सय ३९ रहेकोमा दिगो विकास लक्ष्य अनुरुप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ। प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको पाइन्छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।