तस्बीरः एजेन्सी
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना २ वर्ष पछाडि धकेलिएको छ।
विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार संचालन गर्ने लक्ष्य लिइएपनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना २ वर्ष पछाडि धकेलिएको हो।
विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको संपूर्ण काम सकेर व्यावसायिक संचालन गरिने शर्माले जानकारी दिए।
‘कोरोना कहरका कारण तोकिएको मितिमा काम सम्पन्न हुन सकेन’, उनले भने, ‘अब आगामी वर्षको फागुन १ गतेदेखि केबलकार संचालन गर्ने गरी कामलाई तीव्रता दिएका छौँ ।’
कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटेललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना संचालनमा ल्याउने रणनीति बनाएको थियो। माथिल्लो स्टेशनको बहुआयामिक ४ तारे होटेलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना संचालनमा ल्याउने तयारी गरिएको छ।
कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन संचालनमा ल्याउने भएको छ। ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफआवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने। उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सकिनेछ।
परियोजनाको कूल लागत २ अर्ब १० करोड रुपैयाँ पुगेको छ। मोनोकेवल डिटाचवेल रोटेटिङ गोण्डोला प्रविधिमा आधारित १९ गोण्डालामार्फत प्रतिघण्टा ३ सय यात्री बोक्न सक्ने क्षमता रहेपनि त्यसलाई विस्तार गरिएको छ। बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ गोण्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा ५ सय यात्रु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ।
यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ। बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ। यस गार्डेनभित्र बटम स्टेशनको ५ तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ। यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए। यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ।
माथिल्लो स्टेशनमा ९ तले ४ तारे होटल बन्नेछ। यसअघि, होटलमा ६६ कोठा रहने बताइएपनि अब त्यसलाई बढाएर ८४ देखि १ सयसम्ममा स्तरोन्नति गरिनेछ। होटललाई निश्चित समय र व्यवस्थापन पार गरेर ४ तारेबाट ५ तारे होटलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका संचालक तारानाथ उपाध्यायले जानकारी दिए।
कम्पनीको १ अर्ब अधिकृत पूँजी, जारी पूँजी ७५ करोड र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ९० करोड रुपैयाँ पु¥याउने लक्ष्य लिइएको छ। आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो। लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ १ हजार १ सय भन्दा बढी लगानीकर्ता छन्।
ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ। ठूल्ढुंगास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केवलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ।
स्थानीयवासीलाई टिकटमा सहुलियत
कम्पनीले स्थानीयवासीलाई केबलकारको टिकटमा सहुलियत दिने भएको छ। स्थानीयवासीका लागि केबलकारमा सवार गरेवापत जीवनभरका लागि सुरुआतमा १० वर्षको अवधि रहने गरी लाइफटाइम फेयर घोषणा गरिएको छ। सो टिकटको मूल्य १० हजार तोकिएकामा परिवारका सबै सदस्यले टिकट बाहकका रूपमा पालैपालो प्रयोग गर्न सक्नेछन्।
‘यस्तो टिकट बिक्री गर्नका लागि कम्पनीले आगामी कात्तिक ५ गतेदेखि पुस मसान्तसम्म खुला गर्ने निर्णय गरेको छ, उपाध्यायले भने, ‘प्रत्येक वडालाई १५÷१५ दिनको समयसीमा दिएर टिकट किन्ने सुविधा दिएको छ।’
यसैगरी, वन समूहका सदस्यलाई २५ प्रतिशत, जग्गादातालाई ५० प्रतिशत र दृष्टिविहीन तथा ह्विलचियर प्रयोगकर्तालाई साधारण टिकटमा ५० प्रतिशत छुट दिइनेछ। अन्य अपाङ्गता भएका व्यक्तिलाई २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







