प्रधानमन्त्री देउवाद्वारा निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण : भलबाढी ब्यबस्थापनका लागि बजेट दिने आश्वासन


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित




पोखरा । असोज २५, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी गराएको थियो । आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको जानकारी गराए । उनले विमानस्थल निर्माण सम्पन्न भएसँगै सञ्चालनमा सहज बनाउन अब पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटान, ल्याण्डफिल साईडको वैकल्पिक ब्यबस्था र विमानस्थल क्षेत्रमा वर्षेनी आउने भलबाढी ब्यबस्थापनको समस्या समाधान गर्नुपर्ने बताए ।

‘विमानस्थल सञ्चालनमा आउनु भन्दा ६ महिना अगाडि नै डाँडा कटान सक्नुपर्ने बाध्यता छ, तर वातावरण प्रभाव मूल्याङ्कन (ईआए) हुन नसक्दा डाँडा कटान हुन नसक्दा डाँडा कटान ठोस रुपमा अगाडि बढ्न सकेको छैन’–उनले भने । त्यो डाँडा कटान नगरी विमानस्थल सञ्चालनमा आउन नसक्ने उनले स्पष्ट पारे । उनले ईआईए र डाँडाकटान दुबै एक साथ अगाडि बढाउनेबारेमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको ब्रिफिङसमेत गरे ।

त्यस्तै मुनंकर्मीले विमानस्थलमा ठूलो वर्षा भएको बेला काहुँ, कुँडहर, चाउथे, बिजयपुरलगायतका क्षेत्रबाट बगेर आएको भलबाढी विमानस्थलमा पस्ने गरेको भन्दै यसले विमानस्थल सञ्चालनमा समस्या आउनसक्ने जानकारी गराए । त्यसैले यसको ब्यबस्थापन गर्नुपर्ने भन्दै उनले यसका लागि करीब ६४ करोड खर्च लाग्ने बताए ।

आयोजना प्रमुख मुनंकर्मीले वैकल्पिक ल्याण्डफिल साइड पनि नतोकिदा विमानस्थल सञ्चालनमा असर पर्ने हो कि भन्ने त्रास बढेको बताए । हालको ल्याण्डफिल साइड विमानस्थल भन्दा २ किलोमिटर नजिक भएकाले त्यसलाई सार्नैपर्ने बाध्यात्मक परिस्थिति रहेको उनले प्रधानमन्त्रीलाई ब्रिफिङ गरे । विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिना अघि नै ल्याण्डफिल सार्नुपर्ने उनको भनाई छ । त्यसो भएमा हालको ल्याण्डफिल सडमा रहेका चराहरुपनि सिफ्ट हुने उनीहरु हिंड्ने रुटपनि परिवर्तन गर्न समय लाग्ने भएकाले चाँडै वैकल्पिक ल्याण्डफिल साइड खोज्नुपर्ने भएपनि अहिलेसम्म महानगरपालिकाले नगरेको उनले बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले भलबाढी ब्यबस्थापनका लागि आवश्यक बजेट ब्यबस्थापन गरिदिने आश्वासन दिए । तर उनले ईआईए र डाँडा कटान सँगसँगै गर्नेबारे भने कुनै जवाफ दिएनन् । ल्याण्डफिल साईडको विकल्प खोज्ने जिम्मेवारी महानगरपालिकाको भएकाले महानगरले नै त्यसको ब्यबस्थापन गर्ने बताएको निरीक्षणमा सहभागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए ।

पत्रकारसँग भने प्रधानमन्त्री देउवाले विमानस्थलको एप्रचोचमा पर्ने रिठ्ठेपानीको डाँडा कटान छिट्टै हुने बताए । ‘डाँडा कटान छिट्टै शुरु गर्नुपर्छ, यसले विमानस्थल सञ्चालनमा कुनै असर नपर्ने अवस्थाको सिर्जना गर्छौं’–उनले भने ।

२२ अर्बको लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल १० जुलाई २०२२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले निर्माण गरिरहेको छ । यसअघी १० जुलाई २०२१ मै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण निर्माणमा ढिलाई भएपछि एक वर्ष म्याद थपिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।