मौसम सुधार हुन अझै केही दिन लाग्ने

- पोखरामा ५६.१ मिलिमिटर वर्षा मापन


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७८ मा प्रकाशित




पोखरा । आइतबारबाट प्रभावित भएको नेपालको मौसममा सुधार आउन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली संयुक्तरुपमा बंगालको खाडी र मध्य भारतबाट उत्तरतिर सर्दै गरेका कारण नेपालको मौसम अझै केही दिन प्रभावित हुने महाशाखाले सोमबार साँझ मौसम पुर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जनाएको हो ।

महाशाखाका अनुसार गण्डकी प्रदेश सहित सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यस्तै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानहरुमा पनि सोही किसिमको वर्षा भइरहेको उल्लेख छ ।

पछिल्लो २४ घण्टामा पोखरामा ५६.१ मिलिमिटर वर्षा मापन गरिएको छ । महाशाखाका अनुसार सोही अवधीमा सबैभन्दा धेरै डडेलधुरामा १६६.२ मिमि वर्षा भएको छ । त्यसैगरि दिपायलमा १५५.३, धनगढीमा ९८, बिरेन्द्रनगरमा ५७.९, नेपालगञ्जमा ३३, जुम्लामा ३५.३, घोराहीमा १३३.९, भैरहवामा ११२.५, सिमरामा ३४.१, काठमाण्डौंमा ३.९ मिमि वर्षा मापन भएको छ ।

उता, ताप्लेजुंगमा ०.३, धनकुटामा २.१, बिराटनगरमा ०.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज पोखराको न्यूनतम तापक्रम २०.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस मापन गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।