समृद्धिका लागि एमालेसँग मात्रै स्पष्ट गन्तव्य छ : अध्यक्ष ओली


     रासस     
     कार्तिक ३ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा र स्पष्ट गन्तव्य बोकेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

सो पार्टीको बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठकमा आज निवर्तमानप्रधानमन्त्री ओलीले अन्य दल र अहिलेको सत्ता गठबन्धनसँग आफूल गठजोड र सत्ता स्वार्थ मात्रै देखिएकाले ती दललाई जनताले जनादेश नदिने जिकिर गरे ।


अध्यक्ष ओलीले पार्टीले तोकिएको मिति आगामी मङ्सिर १०, ११ र १२ मा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि स्थानीय तहका अधिवेशन सम्पन्न हुने जानकारी दिए ।

“देशव्यापी जनाधारको शक्ति हामीसँग छ । पार्टीबाट चोइटिएर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउँछु भन्नेहरूको सपनालाई जनताले स्वीकृत गर्ने छैनन् । हाम्रा बारेमा कुनै भ्रम छरिएको छ भने त्यसलाई सम्बन्धित नेता–कार्यकर्ताले जनतासमक्ष पुगेर चिर्नुपर्छ । हामी च्याँखे दाउ थापेर होइन, जनादेश लिएर समृद्धिको यात्रा पूरा गर्ने जिम्मेवारीमा पुनः आउनेछौँ ।”

उहाँले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न पनि निर्देशन दिनुभयो । बैठकमा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज रामबहादुर थापालगायत नेताले पार्टीलाई अझै सशक्तरूपमा सञ्चालन गर्ने गरी कामा गर्न आग्रह गरे ।

स्थायी कमिटी बिहीबार

यसैबीच पार्टीको आशन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने तय भएको छ ।

गत असोज १५–१७ गते सम्पन्न विधान महाधिवेशनमा १०औँ महाधिवेशन अर्काे निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकामा उक्त स्थान परिवर्तन हुने सङ्केत देखिएको छ ।

बागमती प्रदेशको आजको बैठकमा सो प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।