थमनको स्मृति सभामा माओवादी नेतृत्वको एक स्वर : ‘पार्टी जति बिग्रियो बिग्रियो, अब सपार्छौं’


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष हरिराज अधिकारी (कुमार)ले २०६४ सालकै अवस्थामा पार्टीलाई फर्काउन सम्पूर्ण पार्टी पंक्ति लाग्नुपर्ने बताएका छन् । सहिद थमन परियारको १७ औं स्मृति दिवसको अवसरमा थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘स्मृति सभा’मा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश अध्यक्ष अधिकारीले सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउनुपर्नेमा जोड दिएका हुन् । उनले पार्टी नेतृत्वलाई गाली गरेर मात्र पार्टी नबन्ने भन्दै त्यसका लागि सबै एकजुट भएर पार्टी संगठनलाई बिस्तार गर्नुपर्ने बताए । ‘पार्टीलाई गाली मात्रै गरेर सिद्धिने कि विगतका कमीकमजोरीलाई सुधार्दै पार्टीलाई सुधार्ने ? यो जिम्मा हाम्रो काँधमा आएको छ’–उनले भने ।

अध्यक्ष अधिकारीले पार्टी जति बिग्रियो बिग्रिसकेकाले अब यसलाई सुधार्नका लागि सबै जाग्नुपर्ने बताए । प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलनबाहेक अरु कसैले समाजवादको यात्रा तय गर्न नसक्ने ठोकुवा गर्दै उनले भने,‘पार्टी जति बिग्रियो, बिग्रियो, अब बिग्रिन नदिऔं, अब सबै एकताबद्ध भएर सुधारौं ।’ उनले अबपनि नमिले काल निम्त्याउनुबाहेक अरु केहि नहुने बताए । जनयुद्धका घटनाहरु ब्यूँझाएर प्रचण्डदेखि नेता÷कार्यकर्ता सबैलाई जेल पठाउने षडयन्त्र भइरहेकाले त्यसबिरुद्ध फेरी एकपटक युद्ध छेड्नुपर्ने उनको भनाई थियो । उनले अहिलेपनि प्रतिगमनकारीको भण्डाफोर गर्दै आक्रामक ढंगबाट संगठन बिस्तार गर्न सकेमा पार्टी एक नम्बर बन्नसक्ने बताए । तर फेरीपनि ल¥याङलुरुङ गरेमा माओवादीको जस्तो बिजोग कसैको नहुनेपनि चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले माओवादीका नेता÷कार्यकर्ताकोपनि व्यवहार, आचरण र शैली कांग्रेस, एमालेको जस्तै भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । त्यसका लागि आफू तयार रहेको बताउँदै उनले भने,‘म सच्चिन तयार छु, तपाईंहरुपनि तयार हुनुपर्छ, नत्र समाजवादी क्रान्ति पूरा हुँदैन ।’

नेकपा माओवादी केन्द्र कास्की अध्यक्ष बखानसिंह गुरुङ, नेताहरु रामराज रेग्मी, झलकपाणी तिवारी, थमन परियारका सहपाठी तथा अग्रज पत्रकार कोमलनाथ बराल, पोखरा महानगर कमिर्टी ईञ्चार्ज तथा गण्डकी प्रदेश सभा सदस्य दीपक कोइराला, पोखरा महानगर अध्यक्ष विश्वप्रकाश लामिछाने, संविधान सभा सदस्य तेजकुमारी पौडेल, थमन स्मृति प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीलगायतले माओवादीको आचरण, शैली र व्यवहार थमनले देखेको सपना भन्दा फरक भएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्दै थमनका छोरा सन्तोष परियारले बुबाले देखाएको सपना पूरा गर्न पार्टी र समाजसँग लडिरहने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।