बागलुङ । दुरावस्थाबाट गुज्रेका यहाँका दुई उद्यानको पुनर्निर्माण थालिएको छ । संरक्षण अभावमा बिरूप बनेको वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको मुहार फेरिने भएको हो । सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन बागलुङ नगरपालिका लागिपरेको छ । सहरी आकर्षण थप्न बनाइएका ती उद्यान वर्षौंदेखि अलपत्र थिए ।
उद्यानको कन्तबिजोग देखेका सर्वसाधारण र सञ्चारक्षेत्रबाट पनि आलोचना हुँदै आएको थियो । । राससले गत वर्ष साउनमा ‘मानिसलाई गिज्याइरहेका उद्यान’ शीर्षकमा आलेख सम्प्रेषण गरेको थियो । नगरप्रमुख जनकराज पौडेलले यही वर्षभित्र दुवै उद्यानलाई हेर्न लायक बनाइछाडिने बताए । उनका अनुसार वीरेन्द्र–ऐश्वर्य उद्यान बोलपत्रमार्फत पुनर्निर्माणको प्रक्रियामा गइसकेको छ । ‘एए कन्स्ट्रक्सन’ले रु. एक करोडमा कामको जिम्मा लिएको हो । नगरपालिकाका इन्जिनियर मनोज शर्माले सो उद्यानमा दसैँअगावै देखि काम नलाग्ने संरचना हटाउने, झाडी सफाइलगायत काम सुरु भएको बताए ।
“निर्माण कम्पनीले चार महिनाभित्रैमा काम सक्ने प्रतिबद्धता जनाएको छ,” उनले भने । उद्यानमा पानीको फोहोरा वाटर फाउन्टेन बालबालिका खेल्ने-रमाउने स्थल, विश्रामपाटी, बगैँचा, फुटपाथलगायत संरचना बन्ने इन्जिनियर शर्माले बताए । “उद्यानको बीचमा कलात्मक वाटर फाउन्टेन बन्छ, रातको समयमा पनि आकर्षण दिन त्यही किसिमले बत्तीको प्रयोग हुन्छ,” उनले भने“सबै संरचना कलागत र पर्यटनमैत्री हिसाबले बन्छन्, उद्यान चिटिक्कको देखिनेछ ।
”उद्यान रहेको जमिन सडकभन्दा तल रहेकाले वर्षायाममा पानी जम्ने समस्या हटाउन एक हात माथिसम्म माटो थपेर तहसमेत मिलाइने भएको छ । नगरपालिकाको आफ्नै बजेटबाट सो उद्यानको पुनर्निर्माण र सौन्दर्यीकरण गर्न लागिएको हो । बागलुङबजारको मुटुमा रहेको उक्त उद्यान तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको नाममा विसं २०३२ मा बनेको थियो । ०६२-६३ को जनआन्दोलनमा त्यहाँ रहेको राजा–रानीको सालिक तोडिएपछि उद्यान लथालिङ्ग अवस्थामा पुगेको थियो ।
त्यसबेला निर्मित कला, कौशलयुक्त संरचना जीर्ण भई अलपत्र परेका थिए । रेखदेख नहुँदा बगैँचा झाडीमा फेरिएको थियो । अब उद्यानले नयाँ स्वरुप ग्रहण गरेपछि त्यसको संरक्षण र व्यवस्थापनमा कमी हुन नदिइने नगरप्रमुख पौडेलले बताए । “दसैँमा कामदार घर गएकाले केही दिन निर्माण रोकिएको थियो, अब फटाफट काम हुन्छ,” उनले भने, “बढीमा चार महिनाभित्रमा उद्यानको मुहार फेरिन्छ, हेर्नलायक बन्छ ।
विसं २०५७ मा निर्मित शहीद स्मृति उद्यानको सौन्दर्यीकरण योजनालाई पनि नगरपालिकाले गति दिएको छ । गत आवमा वन तथा वातावरण मन्त्रालयको सहरी वन विकास कार्यक्रममार्फत रु. ४२ लाख खर्चेर उद्यानमा पूर्वाधारको काम गरिएको इन्जिनियर शर्माले बताए । मन्त्रालयको रु. २४ लाख, नगरपालिकाको १० लाख र बाँकी उपभोक्ता समितिको लगानीबाट शहीदका सालिक रहेको संरचना सुधार, पर्खाल निर्माण, घेराबार, दुबो रोपण, बगैँचा विस्तारलगायत काम भएको थियो । सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन तथा रमणीय वातावरण विकासका लागि मन्त्रालयले स्थानीय तहसँगको साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चालु आवमा पनि नगरपालिकाले सोही कार्यक्रमका लागि रु. एक करोडको योजना प्रस्ताव गरेको छ । प्रस्ताव स्वीकृत भएमा नगरको ७० र मन्त्रालयको ३० प्रतिशत लगानीमा उद्यान विकास र व्यवस्थापनको काम हुने इन्जिनियर शर्माको भनाइ छ । यसअघि नियमित रेखदेख तथा संरक्षण नहुँदा उद्यान अलपत्र परेपछि नगरपालिकाले माली र कर्मचारी नियुक्तिका लागि पनि प्रक्रिया अगाडि बढाएको छ । उद्यानमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिक छ ।
उद्यान अलपत्र परेपछि शहीदका सालिक पनि जीर्ण बनेका थिए । सुधारको काम थालिएपछि उद्यानको स्वरुप केही बदलिएको छ । संरक्षण र व्यवस्थापन नभएपछि सो उद्यानमा वर्षौं अघिदेखि नगरपालिका र अन्य सरकारी निकायले गरेको लगानी खेर गइरहेको थियो । २९ रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा पछिल्ला वर्षमा मात्रै नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत झण्डै रु. एक करोड र प्रभु बैङ्कले रु.१५ लाख खर्चेको थियो । दुवै उद्यान नगरको सम्पत्ति भएकाले त्यसको संरक्षण र व्यवस्थापनमा नगरपालिका नै बढी जिम्मेवार हुनुपर्ने वीरेन्द्र–ऐश्वर्य उद्यानका पूर्वाध्यक्ष एवं संरक्षक शैलेन्द्रकुमार श्रेष्ठले बताए । उनले जनस्तरबाट सहयोग जुटाएर जग्गा खरिद गरी उद्यान बनाइएको स्मरण गरे।
सो उद्यान संस्थाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको उनको भनाइ छ । वीरेन्द्र–ऐश्वर्य उद्यानका नाममा लालपुर्जासमेत छ । भताभुङ्ग अवस्थामा पुगेको उद्यान पुनर्निर्माणमा नगरपालिकाले लगानी र चासो लिएकामा श्रेष्ठले खुसी व्यक्त गरे । नगरपालिकाले उद्यान व्यवस्थापन र संरक्षणको दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ । बागलुङबजारमा आवदी बढेका बेला स्वच्छ हावा दिने सार्वजनिक उद्यानको व्यवस्थित विकास गरिनुपर्नेमा संरक्षक श्रेष्ठको जोड छ । यी दुई उद्यानको सौन्दर्यीकरण योजनाले गति लिइरहेका बेला सदरमुकामकै अर्को अलपत्र मदन–आश्रित स्मृति उद्यानको संरक्षण र व्यवस्थापनका लागि सरोकार भएका पक्षमाथि दबाब बढेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







