चुनावपछि एमाले कहाँ छ भनेर टर्च बालेर खोज्नुपर्छ : नेपाल


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीस चोलेन्द्र समसेर जबरालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउनेबारे प्रस्ताव नै नआएको बताएका हुन् । ‘प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउने कुरा बजार हल्ला मात्र हो । यसबारे कसैले प्रस्ताव ल्याएको पनि छैन । दलहरुबीच छलफल पनि भएको छैन । हल्लाको पछि कुद्न जरुरी छैन’–उनले भने ।

अध्यक्ष नेपालले केपी ओलीले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीसले राजिनामा दिनुपर्छ भनेर अदालतको हुर्मत लिने काम गरेको आरोप लगाए । संसद पुर्नस्थापना गरेर अदालतले संविधान, कानून र सिस्टम बचाएको भन्दै तिनै न्यायाधीसको राजिनामा माग्नु न्यायालयको हुर्मत लिनु भएको उनको भनाई थियो । ‘जलझेल, षडयन्त्र गर्ने केपी ओलीले पाँचै जनाले राजिनामा दिनुपर्छ भनेर न्यायालयको हुर्मत लिने काम गरे । पूर्व प्रधानन्यायाधीसहरुको पनि हुर्मत लिने काम गरे । संविधानको हुर्मत लिने केपी ओलीको पुरानै बानी हो’–उनले भने । उनले न्यायपालिकामा अहिले केहि समस्या भएकोबारे आफू जानकार भएको बताउँदै उक्त समस्या जहाँबाट उत्पन्न भएको हो, त्यहिंबाट समाधान हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले अर्ली इलेक्सन हुने सम्भावना नरहेको बताए । उनले भने,‘अर्ली इलेक्सनबारे कुरा चलेकै छैन । यो हुने सम्भावनापनि छैन ।’ उनले बरु स्थानिय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैपटक गर्नु राम्रो हुने बताए । यसबारे आफूले सोंचेपनि आफ्नै दल र पाँच दलीय गठबन्धनमा छलफल भने गरिनसकेको उनले बताए । ‘एकपटक एउटा चुनाव, अर्को पटक अर्को चुनाव गर्दा खर्च धेरै हुने भो, एकैपटक गर्दा राज्यको खर्चपनि जोगिन्छ, एकपटक पार्टी भित्र र पाँच दलीय गबठन्धनमा छलफल गर्नुपर्ला’–उनले भने ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन बनाएरै चुनावमा जाने बताए । तर कुनैपनि दलले ईच्छा राखेनन् भने नेकपा एस एक्लै चुनाव लड्नलाई नडराउने उनले प्रष्ट्याए । ‘हामीले चुनावसम्मै गठबन्धन कायम राख्ने सोंचेका छौं । तर चुनावी गठबन्धन नभएपनि फरक पर्दैन । सबैको सहमति हुन्छ भने गठबन्धन बनाएर चुनाव लडिन्छ । होइन सबै मिल्न सक्दैन भने एक्लै चुनाव लड्नपनि तयार छौं’–उनले भने । उनले बामपन्थीहरुबीचपनि अलाईन्स हुनसक्ने बताए । बामपन्थीहरु मिलेर चुनाव लड्नुपर्छ भन्ने लागेपनि त्यसबारे ठोस छलफल नभएको उनले बताए । नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नहुने भन्दै उनले बरु चुनाव अघिसम्म आफ्नै पार्टीलाई बलियो बनाउन लाग्ने उनको भनाई छ । उनले चुनावमा गठबन्धन बनाएर नेकपा एसले उपलब्धी हाँसिल गरेपछि केपी ओलीहरुले थाहा पाउने बताए । ‘चुनावमा पाएको उपलब्धीपछि थाहा पाउनेछन् अहंकारीहरुले’–उनले भने ।

एमालेमा १६ वर्षसम्म महासचिव भएर काम गरेका नेकपा एसका अध्यक्ष नेपालले एमाले कुनैपनि बेला विघटन भएको घोषणा हुनसक्ने भविष्यवाणी गरे । केपी ओलीमा बिचलन आएका कारण एमाले पार्टी दक्षिणपन्थी बाटोमा गएको आरोप लगाउँदै उनले भने,‘एमाले कुनैपनि बेला विघटन भएको घोषणा हुनसक्छ किनभने केपी ओलीलाई कम्युनिष्ट पार्टी मन पर्दैन । उहाँलाई कम्युनिष्ट सिद्धान्त र आदर्श मन पर्दैन । कम्युनिष्टको नीति र विधि मन पर्दैन’–उनले भने । उनले केपी ओलीले पार्टीलाई नीजि कम्पनीका रुपमा अगाडि बढाईरहेको भन्दै उनले थपे,‘एमालेका सदस्यहरु नीजि कम्पनीमा रहेका सदस्यका रुपमा रहन बाध्य हुनेछन् । त्यो सामाजिक र सामुहिकीकरणका आधारमा चल्दैन । त्यहाँ केपी ओलीप्रति बफादार भयो भने बस्न पाइन्छ, नत्र बफादार भएन भने बस्न पाईंदैन ।’

अध्यक्ष नेपालले ओलीलाई सुधार्न प्रयास गरेपनि नसुध्रिएको बताए । बिचार र सिद्धान्तमा स्खलन आएपछि ओलीको मती बिग्रिएको बताउँदै उनले भने,‘उहाँ पार्टी विघटन गर्न तयार हुनुभयो । संसद विघटन गर्न तयार हुनुभयो । सबै सिस्टम भत्काउन तयार हुनुभयो । तर आफू सुध्रिन तयार हुनु भएन । उहाँ नसुध्रिनुको कारण के हो भने उहाँमा व्यक्तिवाद जाग्यो । आफूलाई सुप्रिम ठान्ने अहंकार जागेर आयो । सर्वेसर्वा हुँ भन्ने भावना जागेर आयो ।’ केपी ओलीलाई सुधार्छु भन्दा आफूले पटक÷पटक बालुवा पेलेर तेल निस्किदैन भनेको स्मरण गर्दै उनले भने, ‘केहि ओलीलाई लागेको थियो ओलीलाई सुधार्छु भन्ने । तर उहाँ सुध्रिनु हुन्न भन्ने मैले भनेकै थिएँ, त्यो आज आएर पुष्टि भएको छ । आज आएर आएर केपी ओलीलाई सुधारौंला भनेर एमालेमै बस्ने साथीहरुको हरे बिजोग भएको छ ।’ उनले एमालेसँग पार्टी एकता नहुने बताए । बरु एमालेमा बस्नेहरुको हरेबिजोग भएको दोहो¥याउँदै उनले भने,‘अबको चुनावपछि एमाले कहाँ छ भनेर टर्च बालेर खोज्नुपर्ने हुन्छ । एमाले केपी ओली सँगसँगै सती जान्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।