प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता


     रासस     
     कार्तिक १६ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन गएका उनीहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उनीहरुबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउनेलगायत विषयमा कुरा भएको थियो । सो अवसरमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र त्यसमा नेपालको सदभाव होस् भन्ने चाहना राखेको सचिव पौड्यालले बताए ।

यसैगरी दुवै देशको पर्र्यटनका क्षेत्रमा प्रवद्र्धन गर्ने र सम्बन्ध अझ मजबुत बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उनीहरुबीच छलफल भएको थियो ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुगेका थिए ।

यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च अधिकारी, सञ्चारकर्मीलगायत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।