एकै दिन काग र कुकूर तिहार


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७८ मा प्रकाशित




यस वर्षको यम पञ्चकमा आज (बुधबार) दुई वटा तिथि एकसाथ परेको छ।

कार्तिक कृष्ण त्रयोदशी र कार्तिक चतुर्दशी (नरक चतुर्दशी) एकै दिन परेको छ।

कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा काग तिहार र सोही पक्षको कार्तिक चतुर्दशी अर्थात नरक चतुर्दशी (कुकूर तिहार) पनि एकै दिन परेको छ।

त्यसैले, यस वर्षको यमपञ्चक अन्तर्गत काग तिहार र कुकूर तिहार मनाउने भएको छ।

यस वर्ष कार्तिक कृष्ण त्रयोदशी र कार्तिक कृष्ण चतुर्दशी अर्थात नरक चतुर्दशी एकै दिन परेकोले काग तिहार कुकूर तिहार एकै दिन परेको हो।

आज काग तिहार

कागलाई यमराजको सन्देशबाहकका रुपमा लिने चलन छ। काग तिहारका दिन कागलाई पूजा र सम्मान गरी खाने कुरा दिने प्रचलन छ। काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ। घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागि भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ।

धर्मशास्त्र अनुसार यमराजले पृथ्वीलोकमा रहेको मानव लगायत संपूर्ण प्राणीको जन्म मृत्युको विवरण राख्ने भएकोले त्यस्तो विवरण ल्याउने र लैजाने कागले गर्दछ भन्ने मान्यता छ। मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्। यमुनालाई आफ्नो दाजुसँग भेट्न धेरै इच्छा भएर विभिन्न कागमार्फत दाजुलाई भेट्न आउन निम्तो पठाएको धर्मशास्त्रहरुमा चर्चा छ।

कुकूर तिहार पनि

त्यस्तै, आज कृष्ण चतुर्दशी अर्थात कुकूर तिहार। आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुुकूर तिहार मनाइन्छ। प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ। यस दिन घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ। आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने मान्यता छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।