एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ : अध्यक्ष ओली


     रासस    
     कार्तिक १८ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरे । मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, “कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।” नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ कोट्याउँदै उनले प्रचण्डको भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताए ।

“अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरु क्षेत्र बनाउने भनेर धम्क्याउनु पर्दैन, नेपाल अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ”, अध्यक्ष ओलीले भने । सरकारमा हुँदा एमालेले असाधारण काम गरेको उनको भनाइ थियो । “हामीले विकासका काम थुप्रै ग¥यौँ, हामीले गरेको विकास हेरे हुन्छ”, ओलीले भने ।

भक्तपुर एउटा जीवित सङ्ग्रहालय हो भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयाम फैलाउने अध्यक्ष ओलीको भनाइ थियो । एमाले राष्ट्र निर्माणको अभियानमा लागेको उनले चर्चा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।