म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ।
बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौरलाई सम्माएर धौलागिरि क्षेत्रकै ठूलो खेलमैदानमा प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन्।
पछिल्लो ४ वर्षमा ९० लाख रुपैयाँ लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा संघीय सरकारबाट थप १० लाख रुपैयाँ विनियोजन भएको छ।
गत वर्ष विनियोजन भएको ७ लाख रुपैयाँ बजेटबाट निर्माण भएको खेलमैदान परिसरको २ कोठे सामुदायिक भवन आइतबार सांसद भूपेन्द्र थापाले शुभारम्भ गरे। भवनको १/१ कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय संचालनका लागि हस्तान्तरण गरिएको छ। धौलागिरि क्षेत्रकै ठूलो र व्यवस्थित खेलमैदान बनाउन क्रमागत योजनामा समावेश गरेर बजेट व्यवस्थापन भएको छ।
गत वर्ष प्राप्त १० लाख रुपैयाँ बजेटमध्ये ७ लाख रुपैयाँले २ कोठे भवन, १ लाख ५० हजार रुपैयाँले नाली निर्माण र १ लाख ५० हजार रुपैयाँले खेलमैदान सम्माउने काम भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५० लाख बजेटबाट खेलमैदानको डिलतर्फ ५ तह भएको ६० मिटर लम्बाइ र २।७० मिटर चौडाइको प्याराफिट बनाइएको थियो।
प्याराफिटमाथि १० फिट अग्लो तारजालीसमेत लगाइएको छ। आव २०७५/७६ मा २० लाख रुपैयाँको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको थियो। आव २०७४÷७५ मा बेनी नगरपालिकाको १० लाख रुपैयाँको लागतमा २०० मिटर तारजाली लगाइएको थियो । यस वर्ष पनि १० लाख रुपैयाँ विनियोजन भएको छ। पर्याप्त जग्गा भएकाले रत्नेचौर खेलमैदानलाई रंगशाला बनाउन प्रस्ताव गरिएको छ। हाल १६० मिटर लम्बाइ र १०० मिटर चौडाइ भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ।
सो खेलमैदानमा ११/११ खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता संचालन गर्न सकिन्छ। बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमैदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता संचालन गर्न सकिने जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







