जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो


     रासस    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताउनुभयो । उहाँका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुनातर्फ ठोक्काएका थिए ।

तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरामुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताए । घाइते सबै एउटै परिवारका हुन् । इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । घाइतेका आफन्तले हेलिकोप्टर मगाएर काठमाडौं गएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।