अस्ट्रेलिया टी–२० विश्व कप क्रिकेटको फाइनलमा


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७८ मा प्रकाशित




अस्ट्रेलिया आइसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ।

गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदै ५ विकेट गुमाएर भेट्टाएको थियो।

अस्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने म्याथ्यु वेड र मार्कस स्टोइनिसले ८१ रनको साझेदारी गरे। वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे। यस्तै, अस्ट्रेलियाका मिचेल मार्शले २८ रन जोडे। पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्। रिजवानले ६७ र जमानले ५५ रन बनाए। यस्तै, कप्तान बाबर आजमले ३९ रन जोडे।

अस्ट्रेलियाका मिचेल स्टार्कले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १÷१ विकेट लिए। प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब अस्ट्रेलियाले फाइनलमा आइतबार न्युजिल्यान्डसँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।