दीर्घरोगीले ढुक्क भएर फाइजर खोप लगाउनूः स्वास्थ्य मन्त्रालय

- भोलीदेखि १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरूलाई देशभरका २४ अस्पतालबाट फाइजर खोप प्रदान। फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत। नेपालसहित १ सय ३२ देशमा फाइजर खोपको प्रयोग। खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित




सरकारले दीर्घ रोगीहरूलाई भोली (आइतबार) देखि कोरोनाविरुद्धको फाइजर खोप लगाउँदै छ।

अमेरिकाले अनुदानमा दिएको १ लाख मात्रा फाइजर खोपको पहिलो मात्रा भोली कार्तिक २८ देखि मंसीर ४ गतेसम्म र दोस्रो मात्रा मंसीर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दीर्घरोगीका लागि दिन लागेको कोरोना भाइरस विरुद्धको फाइजर खोप ढुक्क भएर लगाउन मन्त्रालयले आग्रह समेत गरेको छ।

फाइजर खोप नेपालसहित १ सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिएको छ।

खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ। यो खोप दीर्घरोगीलाई लगाइसकेपछि बालबालिकालाई लगाइनेछ। नेपाललाई अमेरिकाले १ लाख ६ सय २० मात्रा फाइजर खोप उपलब्ध गराएको हो।

स्वास्थ्य सेवा विभागका अनुसार बालबालिकाका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएको छ। आउँदो पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने जनाइएको छ।

खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाइ लाग्ने, वाकवाकीजस्ता समस्या देखिएपनि २/३ दिनमा सिटामोल खाएपछि सञ्चो हुने स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन्। खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ।

मुटुको शल्यक्रिया गराएका र औषधि प्रयोग गरिरहेका, मिर्गाैला फेरेका, डायलासिस गराइरहेका वा औषधि सेवन गरिरहेका, क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भएर डाक्टरको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएकाहरूले यो खोप पाउने मन्त्रालयले जनाएको छ।

दीर्घ रोगीलाई दिइने फाइजर खोप काठमाण्डौ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा यो खोप उपलब्ध हुनेछ।

यस्तै प्रदेश १ मा मेची प्रादेशिक अस्पताल भद्रपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, प्रदेश २ मा गजेन्द्र नारायणसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज, नारायणी प्रादेशिक अस्पताल वीरगञ्ज र जनकपुर प्रादेशिक अस्पतालमा यो खोप उपलब्ध हुनेछ।

वाग्मती प्रदेशमा वीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर र धुलिखेल अस्पतालमा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरी अस्पताल बाग्लुङमा खोप यो खोप लगाइनेछ।

यस्तै, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगञ्जमा, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल अमरगढीमा फाइजर खोप उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खाेप कुन–कुन अस्पतालमा लगाइन्छ ? 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।