सरकारी सेवाबाट नागरिकलाई बञ्चित नगराउन मुख्यमन्त्री पोखरेलको निर्देशन


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित




लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिए ।

मन्त्री पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका समस्यालगायत जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना सङ्क्रमण न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकथा दिने बताए ।

प्रदेशकै जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लाको समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए । जिल्लामा निर्माणाधीन रहेको पिसिआर भवनका लागि करिब रु ५० लाख आवश्यक रहेको र यसका लागि प्रदेश सकारले सहयोग गर्न स्वास्थ्य कार्यालयका प्रमुख अमर दबाडीले मुख्यमन्त्रीसँग अनुरोध गरे ।

कार्यक्रममा प्रदेशका बिनाविभागीय मन्त्री टोबाटे विक, प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलगायत जिल्लाका सरकारी कार्यालय प्रमुख तथा कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । – रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।