कोवाङ हिमपहिरोका घाइते भन्छन् : ‘ज्वालामुखी विस्फोट भए जस्तो आवाजसहित हिमपहिरो आएपछि भागदौड मच्चिदा घाइते भयौं ।’


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७८ मा प्रकाशित




मुस्ताङ। मुस्ताङको कोवाङमा क्षेत्रमा हिम पहिरो जाँदा भाग्ने क्रममा ११ जना घाइते भएका छन् । ठूलो आवाजसहित ज्वालामुखी बिष्फोट भएजस्तो आवाज आएको र त्यसलगत्तै कालो मुस्लो खसेजस्तो देखेपछि भागदौड मच्चिदा आफूहरु घाइते भएको उनीहरुको भनाई छ ।

हिमाल पारिको जिल्ला मुस्ताङको धौलागिरि र मानापाथी हिमालको बिचबाट आज दिउँसो करिब ११ः३० बजे हिमपहिरो खसेको थियो । हिम पहिरोमा परेर कोवाङस्थित जन आदर्श अमरसिंह विद्यालयका शिक्षक÷शिक्षिकासहित ११ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अनु देसार, अनुसा खत्री, संगम बरुवाल, मिलन पुन, अम्रिता रोकाया मगर, सुजिना केसी, बिरेन्द्र लामिछाने, अनुस्का विक, स्नेहा किसान, कोरिसा विक र सुशीला थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको छ ।

घाइते मिलन पुनले हिम पहिरो आएको देखेपछि भाग्न खोज्दा ककफू घाइते भएको बताइन् उनले भनिन् ’कक्षामा पढिरहेका थियौं, हिमपहिरो आयो भन्ने हल्ला चलेपछि हतार हतार बाहिर आएर हेर्दा ठूलो आवाजसहित धमिलो मुस्लो झरेको देखेपछि हामी पनि भाग्यौं, कान्ला माथिबाट तल हाम फाल्दा खुट्टामा चोट लाग्यो।


त्यस्तै सोहि घटनामा घाइते भएकी अनु देसारले भनिन् ’ स्कुल माथिबाट पानी मिश्रित पहिरो आएपछि हाम फाल्दा घाइते भएँ’। सो हिमपहिरोमा परेर १५० भन्दा बढी चौरी हराएका छन्।


यसैबीच हिमपहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले भेटेका छन् । मुस्ताङ भ्रमणमा रहेका बेला घटना भएको थाहा पाएलगत्तै जिल्ला अस्पताल पुगेर घाइतेको अवस्था बारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले मुस्ताङका प्रमुख जिल्ला अधिकारीलाई उद्धार र उपचार प्रभावकारी बनाउन निर्देशन समेत दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।