संवादमा आउन कानून व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आह्वान


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित





काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।
जबराले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलन छोडेर संवादमा आउन आह्वान गरेका हुन् ।


जबराले वर्तमान परिस्थितीमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादमा आउन आह्वान गरेका छन् ।

प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका छन् ।
उनले कानुन व्यवसायीको जारी आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने उनले उल्लेख गरेका छन् । त्यसैले विद्यमान गतिरोध तत्काल अन्त्य गर्न र न्याय निरुपणको वातावरण सिर्जना गर्ने एकमात्र विकल्प संवाद भएको उनको जोड छ ।

विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने क्रममा उठेका प्रश्नहरु तत्काल सम्बोधन गर्दै बार र बेन्चबीच हातेमालो हुनुपर्ने उनको भनाइ छ ।
प्रधानन्यायाधीश राणाले गत बिहीबार सर्वोच्च अदालतमा परिसरमा वकिलहरुको धर्नामाथि भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गरेका छन्

।

न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार र यसका इकाइको पनि रहने भन्दै बार र बेन्चले आफ्नो दायित्व बिर्सनु नहुने उनले उल्लेख गरेका छन् । उनले विज्ञप्तिमार्फत न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा आफू अग्रसरता लिन तयार रहेकोसमेत प्रष्ट पारेका छन् ।

लामो समयदेखि सर्वोच्च अदालतमा आन्दोलन भइरहेको अवस्थामा प्रधानन्यायाधीश राणाले पहिलो पटक औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।