बसन्त र बिनुले जिते विद्यालयस्तरीय पोखराको सडक दौड


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित




पोखरामा भएको सडक दौडको उपाधि छात्रतर्फ भद्रकाली माविका बसन्त विक र छात्रातर्फ उदय मावी धम्पुसकी बिनु विकले जितेका छन्।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको ३ कि.मि. छात्रतर्फको दौड बसन्तले १३ मिनेट ११ः२३ सेकेण्डमा पूरा गर्दै नगद १० हजारकोा पुरस्कार जिते।

त्यस्तै छात्रातर्फ उदय मावी धम्पुसकी बिनुले १८ मिनेट ०९ः०२ सेकेण्डमा पूरा गर्दै नगद १० हजारको पुरस्कार हात पारिन्।

यस्तै, छात्रतर्फ कलिका माविका पवन क्षेत्री दोश्रो भए भने सोही विद्यालयका निशान पुन तेश्रो र टप्स माविका आशिष राना चौथो भए।

छात्रातर्फ उदय माविकी ऋतु भण्डारी दोश्रो, भद्रकाली माविकी बालकुमारी विक तेश्रो र शिद्ध माविकी सोनिका परियार चौथो भइन्।

उनीहरुले क्रमश नगद ७, ५ र २ हजारका साथमा मेडल र ट्रफी पुरस्कार प्राप्त गरे। कास्कीका २५ विद्यालयका छात्रतर्फ ३ सय ५० र छात्रातर्फ १ सय ५० जना गरी कूल ५ सय जनाको सहभागिता थियो।

पोखराको पर्यटकिय स्थल लेकसाइडको खहरेबाट शुरु भएको उक्त दौड प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौंदीमा पुगेर सम्पन्न भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।