एभरेस्ट एफएमको वार्षिकोत्सवमा विद्यार्थीलाई न्यानो कपडा वितरण


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




पोखरा । एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट एफ एम ९३ मेगाहर्जले प्रथम बार्षिकोत्सबको अवसरमा बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको छ ।

एफएमले शुक्रबार एक कार्यक्रमका विच माछापुच्छ्रे गाउँपालिका–२ खाँदरजुङमा अवस्थित विद्यालयका ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । एफएमले प्रत्येक विद्यार्थीलाई एक–एक थान ट्र्याक सुट वितरण गरेको रेडियोका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस अघि रेडियोले स्थापनाको अवसरमा गतवर्ष सामाजिक उत्तरदायित्व अन्र्तगत मानवसेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्त्रण गरेको थियो ।

सो कार्यक्रममा बोल्दै एफएमका अध्यक्ष कर्मकुमारी गुरुङले एफएमले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘ जिम्मेवार पत्रकारीतासंगै सामाजिक उत्तरदायित्व प्रति हामी सचेत छौं । एभरेस्ट एफएम आवाज विहिनहरुको आवाज बनेर जनताको पक्षमा सँधै उभिने छ ।’ साथै उनले असाहाय, गरिब, दलित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको सहयोगका लागि सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरिन् । सो अवसरमा उनले एभरेस्ट एफ एम ९३ मेगाहर्ज सुनेर आवश्यक सुझाव दिनपनि आग्रह गरिन् ।
बि.सं. २०२१ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा चेपाङ तथा दलित समुदायका ४३ विद्यार्थीहरु अध्ययनरत छन् ।

कार्यक्रममा एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठ र प्राविधिक निर्देशक रविभूषण पराजुलीको उपस्थिती थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ.राम आचार्यले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।