कर्जा चुक्ताको ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग पोखरा उद्योग वाणिज्य संघको माग


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याज चुक्ता नगर्न र्बैंक तथा वित्तीय संस्थाहरुसँग माग राखेको छ।

संघले कर्जा र चुक्ताको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न बैंक तथा वित्तीय संस्थाहरुसँग जोडदार माग गरेको हो।

संघले एक विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचीमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गरेको छ। संघले बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कार्य गर्नु दुःखद भएको ठहर गरेको हो।

संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाद्धारा जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंकका गभर्नरबाट समेत पटक–पटक बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीतिमार्फत घोषित कार्यक्रम लागु गर्न गराउन र व्यवसायीहरुलाई थप प्रताडना नदिन गरेको आग्रहलाई समेत वेवास्ता नगर्न आग्रह गरिएको छ।

‘संक्रमणको त्रासका बीच संकुचनमा परेको उद्योग÷व्यवसाय जोगाउने कि बैंक तथा वित्तीय संस्थाबाट आउने टेलिफोन उठाउने भन्ने अर्को समस्याले पनि नेपालको निजी क्षेत्र प्रताडित बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संघ मौद्रिक नीतिमार्फत् घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयनमा ल्याउन, कर्जाको पुर्नसंरचना तथा पुनःर्तालिकीकरणको निर्देशन कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्दछ।’

विज्ञप्तिमा निजी क्षेत्रले कर्जा तिर्दिन नभनेको उल्लेख गर्दै धम्कीबाट अविचलित रहन र परिस्थितिको जटिलतालाई ख्याल राख्दै सुरक्षित तवरले उद्योग/व्यवसाय संचालन गर्न उद्योगी÷व्यवसायीहरुसँग समेत संघले आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।