नयाँ विचार विकास गर्न लागिपरेका छौँ : अध्यक्ष दाहाल


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् ।

खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताए ।


अध्यक्ष प्रचण्डले भने, “त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।”

उनले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरुले लडाइँ लडेको बताए । उनले भने, “बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेसका विभिन्न जिल्लाका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।”

मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । उनले भने, “हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले बिस्तारै आउँदै गएको छ ।”

एकअर्को प्रसङ्गमा अध्यक्ष दाहालले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए । – रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।