गलेश्वर । म्याग्दीमा केरा खेतीमा गवाँरो रोगको प्रकोप देखिएको छ । सो रोगका कारण किसान चिन्तित बनेका छन् । गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ । कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पुर्याएको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले बताए ।
उनले लगाएका ४०० केराका बिरुवामध्ये ४० भन्दा बढी गवाँरोका कारण मरेका छन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिंगा, थामडाँडालगायत क्षेत्रमा केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका छन् ।
बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाका अनुसार बगरफाँटमा घुन र गवाँरोले सयौं रोपनीमा लगाइएको केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले सात रोपनीमा केराखेती गरेका छन् ।
खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै जान थालेपछि सङ्कटमा परेको कार्कीले बताए। यहाँका किसानले धान फल्ने खेतमा केराखेती गर्दैआएका छन् । सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनीमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा मात्र वार्षिक रु. ५० लाखभन्दा बढी भित्रिने किसान बताउँछन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







