छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित




तनहुँको म्याग्दे गाउँपालिका–५ झिरुवासका धनबल गुरुङ दम्पत्ति भत्किएको घर अगाडि । गत असारमा गएको पहिराले घर भत्किएपछि उनीहरु छानोविहिन घरमा रात कटाउन बाध्य छन । तस्बिर : कृष्ण न्यौपाने/ रासस

दमाैली । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती । कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उनकी श्रीमती । भत्किएको टहरो, च्यातिएको गुन्द्री र केही थान च्यातिएको कपडासहित धनबल दम्पती विगत छ महिनादेखि कष्टकर जीवनयापन गर्न बाध्य छन् । चिसोयाम, घरमा खाने अन्न र रातमा सुत्ने ओछ्यान नहुँदा धनबल भने श्रीमती र छोराछोरीका साथ भत्किएको टहरो हेर्दै बस्न बाध्य छन् ।

उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर केही उपाय नलागेपछि उनीहरु जोखिमयुक्त टहरामा रात कटाउन बाध्य छन् । चार छोरा र पाँच छोरीका बुबा धनबलका छोरा सवारी चालक भए तापनि आर्थिक अवस्था कमजोर भएपछि छानो फेर्न सकेका छैनन्। जसोतसो माइलो छोरा आफैले ऋण खोजेर साउदी गए पनि बाँकी दुई छोराको जिम्मेवारी धनबलकै काँधमा छ । सरकारले गरिब विपन्नका नाममा विभिन्न कार्यक्रम ल्याए पनि आफूहरुलाई कसैले नहेरेको उनको गुनासो छ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन गर्दै आए पनि त्यो कार्यक्रम धनबलसम्म पुग्न सकेको छैन ।

“सुन्दा त सरकारले के के कार्यक्रम ल्याएको छ भन्छन्, तर हामी यसरी बसेको छ महिना बित्न लागिसक्यो”, उनले भने । गत असारमा पहिरो गए पनि कुनै राहत नपाएको उनको गुनासो छ । “खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन्, अन्त जाने ठाउँ छैन जसोतसो यही बसेका छौ”, उनले भने, “कसैले सहयोग गर्दैनन्, कहाँ जानु र ?” सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तत्काल खरको, अथवा कच्ची छानो हटाएर रु. ५० हजार बराबरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागू गरे पनि उनी यसबारेमा अनविज्ञ छन् ।

म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आलेले पहिराले घर भत्किएपछि सुरक्षित स्थानमा सर्ने काम सम्बन्धित व्यक्तिको भएको प्रतिक्रिया दिए । “वडाध्यक्ष आफैले घर खोजेर राख्ने होइन, त्यो त सम्बन्धित व्यक्तिले गर्ने कुरा हो”, उनले भने । नागरिक आवास कार्यक्रमअन्तर्गत काम भइरहेको र त्यसले चाँडै पूर्णता पाउने उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।