नाटक लेखन कार्यशालाका लागि ८ जना छनौट


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा पौष १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनौट भएका छन् ।

नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएको पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले जानकारी दिए ।


यसरी छनौट हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी रहेका छन् । यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत छनोटमा पर्न सफल भएका छन् ।


नाटकको नमुना पठाएर आवेदन दिएका मध्येबाट सहभागी छनोट गरिएको कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बताए । ‘कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्ने थियो । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर पठाउनुभयो त्यसको आधारमा सहभागी छनोट गरिएको हो’ संयोजक गुरुङले भने ।


नाटक लेखन कार्यशाला गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेका हुन् । पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला ११ दिनसम्म चल्ने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बताए ।


कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नेछन् । प्रशिक्षक लामिछानेलेनै आवेदन दिएका मध्येबाट ८ जना छनोट गर्नुभएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।