पोखरा । पोखरा महानगरपालिकाले आफ्नो सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ । पोखरा–८ नयाँबजारस्थित दमकलमार्गमा महानगरको आफ्नै चार रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गरिन् ।
साबिक पोखरा नगरपालिका हुँदादेखिको साँघुरो भवनबाट सेवा दिँदै आएको महानगरले यसअघि पटक÷पटक भवन निर्माणका लागि जमिन खोजी गरेको तर जमिन अभावमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । महानगरका अनुसार ‘अन्डरग्राउन्ड पार्किङ’ सहितको पाँचतलाको भवन रु १९ करोड पाँच लाख छ हजार ३०८ लागतमा निर्माण हुनेछ ।

सो भवन आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग गत असोज १० गते ठेक्का सम्झौता गरिएको महानगर वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताए । भवन शिलान्यास गर्दै उपप्रमुख गुरुङले भवन निर्माणपछि महानगरका सबै महाशाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बाइन् । उनले निर्धारित समयभित्रमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न आग्रह गरिन् । हाल महानगरका विषयगत कार्यायल र महाशाखा फरकफरक स्थानमा रहँदा नागरिकले सहज सेवा पाउन सकेको छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले विकासँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।
स्थानीयवासीले भने महानगरको सो जमिन भएको क्षेत्रलाई खुला नै राखेर उद्यानका रुपमा विकास गर्नुपर्ने भन्दै शिलान्यासमा केही बेर अवरोध गरेका थिए । पाँचवटा स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । अन्य पालिकामा भने जमिन अभाव तथा पालिकाको केन्द्र टुङ्गो लाग्न नसक्दा प्रशासकीय भवनको काम अघि बढ्न सकेको छैन । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







