चितवन । एक सय घडियाल गोही नदीमा छोड्ने तयारी तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छोड्ने तयारी गरिएको गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका जानकारी दिएका छन् ।
उनका अनुसार केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । प्रजनन केन्द्रमा हाल ८५० गोही छन् । हुर्किएका चार÷पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको सङ्ख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १०० हाराहारी गोही छोड्ने तयारी गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्ने विषयमा छलफल भइरहेको छ । पछिल्ला वर्षमा राप्ती नदीमा मात्र गोही छाडिदै आएको छ । हालसम्म विभिन्न नदीमा एक हजार ५८५ गोही छाडिसकिएको छ । राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कमला र बबई नदीमा गोही छोड्ने गरिन्छ ।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।नेपालका नदीमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् ।
जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदी प्रदूषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हुर्किएका ती र प्रजनन केन्द्रमा पारेका अण्डाबाट कोरलेका गोही नदीमा छाड्ने गरिन्छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







