गैँडाकोटमा थपिए साढे दुई करोडका विभिन्न योजना


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ । अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी दिए ।

नगरपालिकाको वडा नम्बर ३ र १८ बाट थप योजना माग नभएको बताइएको छ । योजना माग भएर आएका वडाका लागि नगरपालिकाले थप रु दुई करोड ४५ लाख ९९ हजार विनियोजन गरेको नगरप्रमुख पौडेलले बताए । गत साउनयता वडाबाट वडा समितिको सिफारिस भई आएका थप योजनामा छलफल पश्चात ८१औँ नगर कार्यपालिकाको बैठकले योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले वडा समितिको सिफारिस भएका योजना संचित कोषबाट रकम छुट्याइ योजना कार्यान्वयन गर्ने निर्णय गरेको बताए । छुट्याइएको योजना अधिकांश सडकमार्ग र पुनः कालोपत्रे गर्नकालागि छन् । गैँडाकोट १ मा मन्दिर र सडकका पूर्वाधार निर्माणका रु १५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै वडा नम्बर २ मा रु १६ लाख, वडा नम्बर ४ मा रु १५ लाख, वडा नम्बर ५ मा रु १७ लाख, वडा नम्बर ६ मा रु १५ लाख विनियोजन गरिएको सुवेदीले बताए । वडा नम्बर ७ मा तटबन्ध गर्ने तार जालीका रु १६ लाख ९२ हजार, वडा नम्बर ८ मा सडक मर्मतका लागि रु १५ लाख, वडा नम्बर ९ ग्याबिन तथा सत्सङ्ग भवनका लागि रु १५ लाख छुट्याइएको सुवेदीको भनाइ छ । त्यसैगरी वडा नम्बर १० मा विद्यालयको गेट, कृषि तथा नाला र बाटोको लागि रु १५ लाख, वडा नम्बर ११ मा सडक पुनः कालोपत्रका लागि १५ लाख, वडा नम्बर १२ मा ग्याबिन र तटबन्धका लागि रु १६ लाख, तथा वडा नम्बर १३ मा सडक कालोपत्रेका लागि रु १५ लाख खर्च गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । गैँडाकोट १४ मा सडक कालोपत्रेका लागि रु १५ लाख, वडा नम्बर १५ मा सडक पुनः कालोपत्रेका लागि रु १५ लाख, वडा नम्बर १६ मा खोला नियन्त्रणका लागि रु १५ लाख र वडा नम्बर १७ मा खोला नियन्त्रणका लागि रु १५ लाख विनियोजन भएको सुवेदीले जानकारी दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।