म्याग्दी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ । बेनी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको छ ।
नगरपालिकाको अनुरोधअनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाएका छन् । होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीलाई घरभन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जीवी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालसहितको टोलीले गत हप्ता घरदैलो गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







