साङ्केतिक तस्विर
बागलुङ । कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन ।
म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको इञ्जिनियर विवेक सापकोटाले बताए । जैमिनी नगरपालिकाको जैमिनी धामदेखि कुश्मीशेरा बजार निस्किने २.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको रु ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो । रु ५२ लाखको लागमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ ।
पुरानो बजारक्षेत्र कालोपत्र भए पनि नयाँ बजार विस्तार भइरहेको क्षेत्रमा पनि कालोपत्र गर्ने योजना नगरपालिकाको छ । सहरी विकास मन्त्रालयसँगको समन्वयमा नयाँ बजार क्षेत्र कालोपत्रको काम गरिने उनले बताए। दक्षिण बागलुङको केन्द्र मानिने कुश्मीशेरा बजारमा बजार विस्तार भए पनि सडक विस्तार हुन सकेको थिएन ।
पछिल्लो समय नगरपालिकाले सडक नाली, असजिलो सडकमा ढलान तथा ग्राभेल र साँघुरा सडक फराकिला बनाउँदै आएको छ । विसं २०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न झण्डै १७ वर्ष कुर्नुपरेको थियो । सदरमुकामदेखि जैमिनी नगरको मुकाम जाने सडकमध्ये डेढ किलोमिटर सडकमात्रै जैमिनी नगरपालिकामा कालोपत्र छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







