गरिबीले पिल्सिएका दम्पत्तिको विलौना:छोरीहरुको उपचारमा सहयोग गरिदिनुस्


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित




गण्डकी । मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा एक दाम्पत्ति निकै चिन्तामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण पोखरा–२४ रातामाटाका मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा आफ्ना सन्तान २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा दिपराज तिमिल्सिना दाम्पत्ती समस्यामा परेका हुन् ।

पुसको कठ्याङग्रिदो जाडोमा ठूली छोरी टिका बाख्राको खोरमा डसना विनाको खाटमा सुत्तदै आएकी छन् भने अर्को छोरी छलि बाबु आमा सुत्ने कोठाको छेउमा सानो खाटमा कष्टकर जीवन विताउन बाध्य छन् । “पोखरादेखि मुस्ताङसम्म भारी बोकेर कमाएको रु ६० हजार खर्च गरेर १२ वर्षअघि पोखरस्थित गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक अस्पतालमा दुबै छोरीको उपचार गराउँदा पनि निको भएन” उनले भने, ।

उनका अनुसार छोरीहरु दिसा पिसाव जथाभावी गर्छन्, कोठाबाट बाहिर निस्कने वित्तिकै ताउलामा राखेको गाईभैंसीको कुडो खाने, आङ्गनमा सुकाएको बिस्कुन सबै फाल्दिने र दिदीबहिनी बीच झगडा गर्ने गर्दछन् । छोरीको उपचारका लागि सहयोग गरिदन उनले सबैसँग आग्रह गरेका छन् ।

“छोरीलाई हेरचाह गरेर घरमा नै बसौं भने आम्दानी हुँदैन । हातमुख जोर्न नै समस्या हुन्छ”, उनले गु्नासो गरे, “छोरीलाई छुट्टाछुट्टै कोठामा थुनेर मजदूरी गरेर साँझ घरमा आउँदा उनीहरु दिसा पिसाव खेलाएर बसेका हुन्छन् । कुनै कुनै बेला त कोठामा नै हुँदैनन् । लाइटको सहायताले खोज्दै हिड्नु पर्दछ ।” सन्तानको माया लाग्छ । खर्चको अभावमा उपचार गर्न सकिएको छैन र उचित उपचार कहाँ हुन्छ भन्ने थाहा पनि नभएको दिपराज तिमिल्सिनाले बताए ।

आमा मिना तिमिल्सिनाले आँसु झार्दै भनिन्, “सानी छोरीले त आपैm पनि खाना खाने गर्छिन, ठूलीलाई खुवाई दिनुपर्दछ, शरीरको कपडा च्यात्ने, जथाभावी दिसापिसाव गर्ने र दिसा पिसाव खेलाउँदा घर नै दुर्गन्धित हुन थालेको छ ।”

आफ्नो खासै खेत छैन, अरुको खेत अधिया गरेर मानसिक रोगी दुई छोरी र एक छोरासहित पाँच जनाको जिविकोपार्जन गर्दै आएका सो परिवारले अहिले छोरीको उपचारमा सहयोग गरिदिन हुन विभिन्न सङ्घसंस्था एवम् व्यक्तिसंग हार्दिक अपिल गरेको छ । पहिलो सन्तान छोरीको विहे गरेर पनि नाति ६ वर्षको भइसकेको छ भने २२ वर्षीय छोरा सुरेश तिमिल्सिना पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् ।

उक्त परिवारको अवस्थाका बारेमा बुझन पीडितको घरमा नै पुगेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष शोभामोहन सुवेदीले यो अवस्थाबाट मुक्ति दिलाउनका लागि पहिले उनीहरुको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै बताए । उनले पिडितहररुलाई कोरोनाविरुद्धको खोप घरमा लगाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । “दुवै छोरीको अवस्था कष्टकर रहेको देखेर पहिलो चरणमा उनीहरुलाई बस्नका लागि सुविधायुक्त कोठा निर्माणका लागि रोटरी क्लव अफ पोखरा फिस्टेलले सहयोग गर्ने भएको छ”, उनले भने, “सुविधायुक्त कोठा निर्माणका लागि रु एक लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।”

–––


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।