१४ औं हिसान स्पोर्टस् मिटको तयारी पुरा


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित




पोखरा

पोखरामा हुने १४ औं संस्करणको हिसान स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले जनाएको छ ।

“स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ यहि पौष ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । १४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी ४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् । हिसान कास्कीका अध्यक्ष याम बहादुर रोकाले जानकारी दिंदै १४ औं संस्करणमा व्याडमिन्टन इभेन्ट थपिएको बताए । यस अघि प्रतियोगिता अन्तर्गत तिन इभेन्ट हुँदै आएका थिए ।

प्रतियोगिता अन्तर्गत कक्षा ११, १२ र विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउँदै खेलाडी उत्पादनका लागि समेत प्रतियोगिता सार्थक हुने अध्यक्ष रोकाले जानकारी दिए । उनले भने–“विश्व महामारीका कारण हामीले स्पोर्टस मिट स्थगित गरेका थियौं, कोभिड पछि कास्कीमा हुने यो खेलकुदको मेगा इभेन्ट नै हो ।”

स्पोर्टस मिट अन्तर्गत दुई तहमा प्रतियोगिता हुने छन् । जस अन्तर्गत ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले छुट्टा–छुटटै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिामा हिसान कास्कीमा आवद्ध विद्यालयका छात्र÷छात्राहरु गरि ३ हजार मैदानमा उत्रिने भए पनि ८ हजार विद्यार्थीहरु प्रत्यक्ष तथा परोक्षरुपमा सहभागिता हुने हिसान कास्कीका उपाध्यक्ष दिवाकर जैशीले बताए ।

हिसान कास्कीका उपाध्यक्ष जैशीका अनुसार वास्केटबल, भलिवलतर्फ कक्षा ११÷१२ अन्तर्गत दुवै इभेन्टमा छात्र ७० र छात्रा ७० गरी १४० टिमको सहभागिता रहेको छ । त्यस्तै टेवल टेनिस र व्याडमिन्टनमा छात्र÷छात्रा सिंगल्स तथा डवल्समा सहभागिता जनाउने छन् भने कलेज तथा विश्वविद्यालयका छात्र÷छात्राहरुले ३ वटा इभेन्टमा सहभागिता जनाउनेछन् । उनीहरुले बास्केटबल, टेवल टेनिस र व्याडमिन्टनमा प्रतिष्पर्धा गर्नेछन् ।

यहि पौष ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने १४ औं संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गर्ने कार्यक्रम तय भएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वद्यिालय गरी ७१ शैक्षिक संस्थाहरु आवद्य छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।