पहिरोमा स्काभेटरसहित पुरिदा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्विर

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सोमबार पहिराले चालकसहित स्काभेटर पुरिदा स्काभेटर चालकको मृत्यु भएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा पहिरोमा पुरिएर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्रीको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर उनि पुरिएका थिए । यसैगरी धवलागिरि गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षका गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि आज बिहान ताकम पुगेको छ ।

सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो । प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडि पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेजमा, शव परीक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।