निर्माणाधीन कोल्डस्टोर अलपत्र


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३÷७४ मा रु पाँच करोड लागतमा निर्माण सुरु भएको कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो ।

बेसिजनमा सुन्तला र आलुलगायत फलफूल र तरकारी बजारमा पठाउने गरी रु पाँच करोडलागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर निर्माण योजना तिनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्डस्टोर एक तला बनेपछि अलपत्र बनेको छ ।

हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचनासमेत जीर्ण बनेको छ । स्थानीयवासी प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सातआना १ दाम जग्गा रु १३ लाख ५० हजारमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो ।

२०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गङ्गा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । हमाल दम्पती दिन गन्दै बसिरहनुभएको भए पनि त्यस्ता जेठ १५ अहिलेसम्म चारवटा गइसकेका छन् । न जग्गा पास भएको छ न रकम नै पाएका छन । गङ्गा तिमिल्सिना निर्माण समिति अध्यक्ष हुनुहुन्छ ।

स्थानीय सरोकारवालाले भने इस्टिमेटअनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताउछन् । पर्वत जिल्लाका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रति क्विन्टल दुई हजारसम्म भाडा तिर्दै आएका छन् । कोल्डस्टोर निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानको माग रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।