नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा तीन हजार ९ सय ३ ले नामावली दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले पहिलो चरणमा जिल्लाको हुप्सेकोटमा एक हजार १४०, विनयी त्रिवेणीमा एक हजार ६६२, बुलिङटारमा ४४२ र बौदिकालीमा ६५९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको बताए । नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीको नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिगले मात्रै फोटोसहितको मतदाता परिचयपत्र पाउने शर्माले जानकारी दिए ।
जिल्लामा आठ स्थानीय तह भए पनि सात स्थानीय तहमा मात्रै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको शर्माले बताए । चार गाउँपालिकामा विशेष अभियान सकिएपछि पुस ५ गतेदेखि जिल्लाका अन्य तीन नगरपालिकामा अभियान सुरु भएको शर्माले बताए । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा सञ्चालन भइरहेको दोस्रो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पुस १९ गतेसम्म जारी रहने उनले जानकारी दिए ।
जिल्लामा दुई लाख ३७ हजार ८२ मतदाता रहेका छन् । उनका अनुसार विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ पुरुष र चार जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







