खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यानका चार केन्द्रीय सदस्यहरुको माग


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंह गरी ६ जनाले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् ।

क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरेको भन्दै कारबाही फिर्ता गर्नुपर्ने बताए ।

खेलाडीले वर्गीकरणमा असहमति जनाएपछि उनीहरूसँग सम्वाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यले विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।