चितवन । पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने लागिएको हो ।
प्रदर्शनीका बारेमा जानकारी दिने उद्देश्यले आज रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबीजन प्रदर्शन गरिने जानकारी दिए ।
महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौतीलगायत विषयमा छलफल गरिने उहाँले बताए । महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनीका साथै माछापालन गर्ने तरिका तथा बजारीकरणलाई प्राथमिकतामा राखिएको छ ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ ११औँ संस्करणको उक्त महोत्सव आयोजना गर्न लागिएको हो । दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा महोत्सव आयोजना गरिँदै आएको छ । दुई वर्षअघि कोरोनाका कारण महोत्सव हुन सकेको थिएन । महोत्सवमा ३५० कक्ष रहने बताइएको छ । तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त महोत्सवमा करिब रु १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सव टिकौली चौरमा हुने आयोजकले जनाएको छ । पयर्टन प्रवद्र्धन गर्न सौराहा, टिकौली होमस्टे चेपाङ बस्ती र समाजसँग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीस्थित सूचना केन्द्रको प्रचारप्रसारको व्यवस्था मिलाइएको छ । महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगितासमेत गरिने रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दुवाडीले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







