विपन्न परिवारका हुम्लावासीलाई न्यानो कपडा


     एभरेस्ट आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित




हुम्ला । भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको हो ।

ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २ सय ५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायलाई हिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो मायासहित न्यानो कपडा लिएर कर्णालीको हुम्ला पुगेको फ्रिज्जी लाइट संस्थाका नेपाल प्रतिनिधि छिरिङ लामा शेर्पाले बताए ।

उनका अनुसार ५० जनालाई न्यानो ज्याकेट र स्लिपिङ ब्याग तथा ५० जना विद्यार्थीलाई ज्याकेट, ट्राउजर तथा स्कुल ब्याग वितरण गरिएको छ । मानवीय र सामाजिक कार्यका लागि विकट बस्ती पुग्दै र विपन्न समुदायको पहिचान गरी सहयोग गर्दै आइरहेको संस्थाले जाडोको मौसम सुरु भएपछि हुम्ला सिमिकोट आइपुगेको उनको भनाइ छ । संस्थाले यस वर्षमात्रै नेपालका ३० जिल्लामा यस्तो कार्यक्रम गरेको शेर्पाले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।