लमजुङ बेसीसहरमा त्रिवेणी कप सुरु, १८ क्लब भिड्दै


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित




लमजुङको बेसीसहरमा २९ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिता सुरु भएको छ।

बेसीसहरस्थित सहजी खेलमैदान त्रिवेणी रंगशालामा सुरु प्रतियोगितामा देशभरका १८ क्लबले भाग लिएका छन्।

प्रतियोगितामा काठमाडौं, पोखरा, चितवन, तनहँुलगायत जिल्लाबाट फुटबल टीम सहभागी भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका छन्।

उद्घाटन खेलमा आयोजक त्रिवेणी युवा क्लबले विभागीय नेपाली सेनाको विभागीय क्लब श्रीजंग गणलाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

प्रतियोगिताका विजेताले उपाधिसहित ५ लाख र उपविजेताले ट्रफीसहित ३ लाख पुरस्कार पाउनेछ। सेमीफाइनलिस्ट २ टिमले ५०÷५० हजार पाउनेछ। सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले १५÷१५ हजार पुरस्कार पाउनेछन्।

सो अवसरमा शेर्पाले त्रवेणी युवा क्लब प्रतिभाशाली खेलाडी पहिचान गर्ने थलो बनेको र यसलाई राष्ट्रिय तथा अन्तरौष्ट्रियस्तरमा चिनाउनुपर्ने बताए । अध्यक्ष शेर्पाले आगामी वर्षको ३० औँ त्रिवेणीकपको प्रायोजक अखिल नेपाल फुटबल संघ बन्ने प्रतिबद्धता पनि जनाए ।

क्लबका अध्यक्ष विनोद गुरुङले गत वर्ष कोरोनाका कारण स्थगित भएपनि यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।