‘प्रचण्ड’कै नेतृत्वमा माओवादी केन्द्र

- यसअघि, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य बनेकाहरुको पद तथा गोपनीयताको सपथ ग्रहण गरिएको थियो


     एभरेस्ट आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित




पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) राजनीति चल्ने भएको छ।

हालैमात्र सम्पन्न पार्टीको ८ औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको बैठकले ‘प्रचण्ड’ लाई पार्टीको सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए।

केन्द्रीय कमिटीले प्रचण्डलाई अध्यक्ष चुनेसँगै पार्टीको महाधिवेशन पनि सकिएको छ।

महाधिवेशनपछि ललितपुरको सानेपास्थित हेरिटेज होटलमा बसेको पहिलो बैठकले पार्टीको अध्यक्ष लगायत अन्य पदाधिकारीको पनि टुंगो लगाउने अनुमान लगाइएको थियो। तर, अध्यक्षको पदमा मात्र सर्वसम्मत निर्णय गरेर अन्य पदाधिकारीको टुंगो पुस २५ गतेको बैठकले लगाउने गरी सोमबारको बैठक सकियो।

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गरे। सपथ, लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बसेको थियो।

लगातार ३२ वर्षसम्म प्रचण्डले पार्टीको नेतृत्व सम्हाल्दै आएका हुन्। २०४६ सालमा नेकपा मसालको महामन्त्री नियुक्त भएयता दाहाल निरन्तर नेतृत्वमा रहँदै आएका छन्। २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री, २०५१ सालमा नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकमार्फत पार्टीको नाम परिवर्तन गर्दैै नेकपा (माओवादी) को महामन्त्री हुँदै उनी २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए।

०६९ सालमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका उनी २०७० मा विराटनगरमा भएको एकता महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका थिए। निरन्तर ३२ वर्षदेखि नेतृत्वमा रहेका दाहाल हालै सम्पन्न आठौं महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्। २६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्। पार्टी शान्तिप्रक्रियामा प्रवेशसँगै संसदीय प्रणालीलाई स्वीकार गरेका दाहालले खुला राजनीतिको डेढ दशकसम्म पनि पार्टीभित्र लगातार नेतृत्व गर्दै आएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।