प्रेस काउन्सिल नेपालले मङगलबार बागलुङको सदरमुकाममा आयोजना गरेको पत्रकार आचारसहिंता जागरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत । तस्बिर : रामबहादुर थापा
बागलुङ। प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गर्ने भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज काउन्सिलद्वारा यहाँ आयोजित पत्रकार आचारसहिंता जागरण कार्यक्रममा सो जानकारी दिएका हुन्। “भरसक यही पुस महिनाभित्रैमा नभए पनि आउँदो १५-२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,” उनले भने, “विविध कारणले रोकिएको वर्गीकरण प्रक्रियालाई काउन्सिलको अहिलेको नेतृत्वले टुङ्गो लगाउँदैछ ।” उनले आफूहरु काउन्सिलमा आएको सात महिना मात्रै भएको र पत्रपत्रिकाको वर्गीकरण प्रक्रिया पहिलेदेखि नै अवरुद्ध रहेको स्मरण गराए ।
अध्यक्ष बस्नेतले वर्गीकरण काउन्सिलले मात्रै गर्ने नभएर त्यसमा राज्यका अन्य निकाय पनि सम्बद्ध रहेको स्पष्ट पारे । बेलैमा वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञानबाट वञ्चित हुनुपरेको छ । त्यसको सोझो मार जिल्लास्तरमा सञ्चालित स्वरोजगारमूलक पत्रपत्रिकामा परेको छ । सोही क्रममा अध्यक्ष बस्नेतले आचारसहिंता पत्रकारको मूलमन्त्र भएको उल्लेख गरे । “आचारसहिंतामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैँ मनमा लिएर हिँड्नुपर्छ, पढिरहनुपर्छ,” उनले भने ।
पत्रकारितामा नवप्रवेशीहरुले त झन् आचारसहिंताबारे बढी ध्यान दिनुपर्ने उनको सुझाव छ । काउन्सिका सदस्य दुर्गा भण्डारीले सञ्चारका नयाँ नयाँ माध्यम विकास भएसँगै आचारसहिंता पालना थप चुनौतीपूर्ण बन्दै गएको धारणा राखे । पत्रकारितामा स्वच्छता र विश्वसनीयता कायम गर्न पत्रकारले आचारसहिंता पालना गर्नु अनिवार्य सर्त रहेको उनको भनाइ छ । कार्यक्रममा पत्रकार पुण्य पौडेलले पत्रकार आचारसहिंताका विषयमा सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा ३० भन्दाबढी पत्रकार- सञ्चारकर्मीले भाग लिएको महासङ्घका जिल्ला उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







