शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज संचालकलाई कारबाही गर्ने बताएका छन्।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल बिहीबार भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा गएका थिए।
चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज संचालकले बढी शुल्क लिन नपाउने मन्त्री पौडेलले स्पष्ट पारे।
अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई निर्देशन दिए, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ।’
मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको उनका प्रेस संयोजक बिमल खड्काले जानकारी दिएका छन्।
‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’, मन्त्री पौडेलले निर्देशन दिँदै भनेका छन्।
मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छन्।
काठमाडौँ मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवं प्रदर्शन गर्दै आइरहेका छन्। बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानूनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





