केसी ग्रुपको साझेदारीमा पोखरामा खुल्यो ‘आव्या क्लव’


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित




केसी ग्रुप पोखराको साझेदारीमा पोखरामा ‘आव्या क्लव’ खुलेको छ । प्रतिष्ठित घराना स्व.सूर्यबहादुर केसीका छोराहरुसहित ७ जना युवाहरुले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँगै जोडिएको जग्गामा संयुक्त रुपमा ‘आव्या क्लव’ खोलेका हुन् । ‘आव्या क्लव’मा स्वर्गिय केसीका छोराहरु प्रकाश केसी, किरण केसी र रोसन केसी तथा विश्व गौतम, सायब एडी मल्ल, वरुण खड्का र निरज लामाको लगानी रहेको छ ।

१४ करोडको लगानीमा बनेको क्लव एक लाख १० हजार वर्ग स्क्वायर फिटमा फैलिएको क्लवले दाबी गरेको छ । नेपालकै सबैभन्दा ठूलो क्लव भएको दाबी गरिएको यो क्लव नेपाली नया वर्षको अवसर पारेर बैशाखदेखि सञ्चालन गरिने जनाइएको छ ।

क्लवमा शारिरिक व्यायामका लागि जिम सेन्टर रहेको छ । त्यसको दक्षिणतर्फ वाटर हिटिङ स्विमिङ पुल छ । चिसो समयमा पनि पानी तातो बनाएर स्विमिङ गर्न मिल्ने यस प्रकारको वाटर हिटिङ स्विमिङ पुल बनेको पोखरामा पहिलो हो । स्विमिङ पुलको पश्चिमपट्टी साउना बाथ, ज्याकोजीलगायतको सुविधा छ । क्लवमा रेष्टुरेण्टपनि रहने र त्यहाँ ग्राहकको रोजाई अनुसारको खाना, खाजा र ड्रिङ्क्स उपलब्ध गराईने जनाइएको छ ।

क्लवमा एकैपटक ३ सय जनाले सेवा लिनसक्ने क्षमता भएको क्लवका कार्यकारी निर्देशक वरुण खड्काले जानकारी दिए । आलोपालो गरेर करीब ७ सय जनाले एकै समयमा सुविधा लिन सक्ने उनको दाबी छ ।

पोखरामा लाहुरे परिवारको संस्कृतिकै रुपमा चलेको व्यायामको संस्कारलाई सम्बोधन गर्ने उद्धेश्यले क्लव सञ्चालनमा ल्याएको क्लवका कार्यकारी निर्देशक किरण केसीले बताए । ‘यो हरेक शारिरिक अभ्यास र तन्दुरुस्तीका लागि सेवा लिन आउने व्यक्ति होस् वा आफूलाई सदैव जवान, फुर्तिलो र उत्साही बनाउन चाहने सेवाग्राही होस् । हामी सबैको आवश्यक्ता, रुची र चाहना अनुसारको सेवामा समर्पित हुन्छौं’–उनले भने । उनले क्लवको सेवा मन र आत्माको शुद्धतासहित स्वास्थ्य सुदृढ बनाउनसमेत मद्धत पुग्ने बताए । ‘क्लव पैसा कमाउने दौडमा जीवनको आनन्द र शान्ति गुमाएर विविध स्वास्थ्य समस्या झेलिरहेका नेपालीको लागि मनोपरामर्श गन्तव्य बनाउने हाम्रो उद्धेश्य हो’–उनले थपे ।

अर्का कार्यकारी निर्देशक खड्काले ‘आव्या क्लव’ले पर्यटकको पोखरा बसाई एक दिन लम्ब्याउने बताए । ‘यहाँ आएर सबै सुविधा लिँदा एक दिन बित्छ, यसले पर्यटकको बसाई लम्बिने हाम्रो विश्वास छ’–उनले भने । क्लवमा ५ वर्षिय बालबालिकादेखि ८० वर्षका बृद्धबृद्धाहरुलेसमेत सेवा लिनसक्ने उनको भनाई छ । व्यायामलगायतका क्लवले दिने सेवामा सर्वसाधारण सबैको पहुँच पु¥याउन सस्तो मूल्य कायम गरिने उनले बताए । तर अहिले मूल्य भने निर्धारण नभइसकेको उनले प्रष्ट्याए ।

क्लवमा योगा, मिडिटेसन, फिजियोथेरापी, रिहाविलिटेसन कार्यक्रमसमेत थप्ने योजना रहेको खड्काले बताए । क्लवलाई शारिरिक र मानसिक आरोग्य केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।