सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

कर्णाली । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो ।

नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सब इञ्जिनीयर वीरेन्द्र रावलले बताए ।

उनका अनुसार अतिक्रमण हटाउने अभियानअन्तर्गत गरिएको नापी नक्साबाट दुई पक्की घर, चार जस्तावाला घर, चार पक्की सेफ्टी ट्याङ्की, आठ वटा तारजाली एङ्गलसहितका पर्खाल, एक ढुङ्गाको पर्खाल र पाँच टहरा गरी कूल २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् ।

सडक अतिक्रमण गरी निर्माण भएका दुई पक्की घर र चार सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । त्यस्तै जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको छ । भने, तारजाली पर्खाल, ढुङ्गाको पर्खाल र टहरालाई शुक्रवार डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।