पाँच दलीय गठबन्धनले भन्यो : राष्ट्रिय सभा सदस्यको चुनावमा प्रतिगमनलाई गण्डकीमा टाउको उठाउन दिदैनौं


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित




राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको दाबी गरेको हो । संसद विघटन गर्ने केपी ओलीको कदमलाई प्रतिगमन भन्दै पाँच दलीय गठबन्धन बनाएर लडेका उनीहरुले राष्ट्रिय सभा सदस्यको निर्वाचनपनि गठबन्धनबाटै लड्दैछन् । गठबन्धनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा रहेका छन् । गण्डकी प्रदेशमा भने स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेपनि गठबन्धनमै छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा ३ सिटका लागि निर्वाचन हुँदैछ । जसमा नेकपा माओवादी केन्द्रबाट तनह्ँका सुरेश आलेमगर र गोरखाका भुवनबहादुर सुनार तथा नेपाली कांग्रेसका कमला पन्तले उम्मेद्वारी दिएका छन् ।

गण्डकी प्रदेशमा कुल ५ हजार ८ सय ९२ मतभार रहेको छ । प्रदेशमा पाँच दलीय गठबन्धनमा ३ हजार २ सय ५२ मतभार रहेको छ । जुन उम्मेदवार जिताउन काफी छ । विपक्षी नेकपा एमालेको २७ सांसदको १ हथजार २ सय ९६ र ७० अध्यक्ष, उपाध्यक्षको १ हजार २ सय ६० गरी कुल २ हजार ५ सय ५६ र राप्रपाको २ अध्यक्ष उपाध्यक्षको ३६ मतभार रहेको छ ।

पाँच दलीय गठबन्धनले कम्तिमा ६ सय ९६ मतभारको अन्तरले विपक्षी एमाले उम्मेदवारलाई हराउने दाबी गरेको छ । पाँच दलीय गठबन्धनको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट तीनै जनाको जित सुनिश्चित भएको दाबी गरे । उनले आफूहरुको नीति सकभर अर्काको मत चोर्ने तर आफ्नो मत भने कुनैपनि हालतमा संरक्षण गर्ने भएको बताए । हामी गठबन्धनलाई जिताउन एकताबद्ध छौं,उनले भने,‘अहिले गठबन्धनको विकल्प छैन, त्यसैले एकमतका साथ हामी हाम्रा गठबन्धनलाई जिताउँछौं ।’ संविधानमाथि परेको संकट टार्नका लागि बनेको गठबन्धनको आवश्यक्ता अझै रहेको उनले बताए । ‘गठबन्धन नगरे फेरीपनि प्रतिगमन दोहोरिन्छ र संकट आउँछ, एक्लाएक्लै लड्दा प्रतिगमन रोक्ने सामथ्र्य पुग्दैन, त्यसैले हामी गठबन्धनलाई निरन्तरता दिन चाहन्छौं, यसलाई टुट्न दिदैनौं’–उनले भने ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीका पाँचदलीय गठबन्धनका नेताहरुको जित सुनिश्चित भएको बताए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका सुरेश आलेमगरले प्रतिगमनलाई परास्त गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए । ‘हामीबीच बैचारिक मतभिन्नताहरु छन्, यो हिजोपनि थियो र आजपनि छ । तर अहिलेको आवश्यक्ता भनेको प्रतिगमनलाई परास्त गर्नु हो । प्रतिगमनको खतरा नटरिसकेकाले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनै पर्छ’–उनले भने ।

अर्का उम्मेदवार भुवनबहादुर सुनारले प्रतिगमनलाई घुँडा टेकाउँदै उत्पीडित जनताको आवाज बुलन्द गर्न आफ्नो उम्मेदवारी भएको बताए ।

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य तथा प्रदेश उपसचिव श्रीनाथ बरालले प्रतिगमनकारीले फेरी टाउको उठाउन नसक्ने स्थिति सिर्जना गर्नका लागि पाँचदलीय गठबन्धनलाई जिताउन पार्टी प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पाँचदलीय गठबन्धनलाई जिताउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

पाँचदलीय गठबन्धनका उम्मेदवारको पक्षमा मतदानका लागि अपिल गर्न आयोजित पत्रकार भेटघाटमा पाँचदलीय गठबन्धनका प्रदेशस्तरीय नेताहरु । तस्बिर ः उमेश पुन÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।