गडहरे गुफाको भूभौतिकी सर्भे गरिने


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको भूभौतिकी सर्भे गरिने भएको छ । प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि यसअघि गरिएको भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएसँगै अब दोस्रो चरणको भूभौतिकी सर्भे गरिने भएको हो ।

भीरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविद गरी १२ जनाको टोलीले छ दिन लगाएर गत भदौमा भौगर्भिक अध्ययन गरेको थियो । गुफाभित्र ६८० मिटर भन्दा भित्र छिर्न नसिएकाले त्यहाँभन्दा अझै भित्रको अवस्थाकाबारेमा अध्ययन गर्नका लागि छुट्टै विधि ‘भूभौतिकी सर्भे’ गर्नुपर्ने देखिएको छ ।

दोस्रो चरणको सर्भेका लागि नगरपालिकालाई जानकारी गराईएको र नगरपालिका सकारात्मक रहेको उपप्राध्यापक पौडेलले बताए । पहिलो चरणको भौगर्भिक अध्ययनपश्चात गुफाको बाहिरी तथा भित्री भूवनोट, गुफाभित्रका विभिन्न आकृति, ढङ्गा खस्न सक्ने जोखिम भए नभएको, गुफाको बाहिरी भित्री संरचनाकाबारेमा प्रतिवेदन तयार पारेर सार्वजनिक गरिएको थियो ।

गुफाभित्र विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएका छन् । अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोट, भित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाई, चौडाइ मापन गरेको थियो । गुफाभित्र र बाहिरको सम्बन्धित विषयमा भौगर्भिक अध्ययन सकिएसँगै प्राप्त भएको प्रतिवेदनबाट प्राप्त सुझावलाई नगरपालिकाको तर्फबाट कार्यान्वयनमा लगिने भीरकोटका नगर प्रमुख छायाराम खनालले बताए ।

धार्मीक एवं पर्यटकीय दृष्टिले प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुफाको प्रचार प्रसारसँगसँगै पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रकोरुपमा पहिचान दिने गरी अगाडि बढ्ने भीरकोट ९ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।