हल्का वर्षा र हिमपातको सम्भावना


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित




काठमाडौँ। पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत हुने भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । “आगामी शुक्रबारदेखि अझै अर्काै मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ” । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछाडी प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम माइन चार दशमलव तीन डिग्री सेल्सियस रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।