तनहुँको व्यास नगरपालिकाद्वारा निःशुल्क कोरोना परीक्षण


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पीसीआर गर्ने भएको छ । व्यास नगरपालिका–१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडि पीसीआरका लागि शुल्क लिने गरिएकामा माघ १ गतेदेखि निःशुल्क गर्ने निर्णय भएको हो ।

कोभिड–१९ को बढ्दो प्रकोपलाई मध्यनजर गरी महामारीको अवधिर कुनै पनि शुल्क नलाग्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । नगरपालिकाले यस अगाडि पीसीआर परीक्षणका लागि रु एक हजार शुल्क लिने गरेको थियो । “कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क सेवा दिने निर्णय भएको छ”, उनले भने ।

पच्चीय श्ययाको अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ हाल पाँच श्यया व्यवस्थापन गरिएको छ । सोही अस्पतालमा नगरपालिकाले पीसीआर प्रयोगशाला सञ्चालन गरेको थियो । कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ/ नौ दिन लागेपछि नगरपालिकाले प्रयोगशाला सञ्चालन गरेको थियो । त्यसैलाई मध्यनजर गर्दै सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा प्रयोगशाला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

पीसीआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले रु ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले रु १३ लाख, कर्मचारीले रु आठ लाख, हेफर इन्टरनेशनले रु चार लाख, तनहुँ समाज हङ्कङ र तनहुँ समाज अष्ट्रेलियाले रु दुई÷दुई लाख सहयोग गरिसकेका छन् । पीसीआर प्रयोगशाला स्थापनार्थ रु एक करोड सात लाख ७६ हजार प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि रु एक करोड ३२ लाख १५ हजार २०० ६८ खर्च भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।