कास्कीमा बढ्यो कोरोनाको जोखिम : एकै दिन १८६ जनामा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित




पोखरा, माघ ३

गण्डकी प्रदेशको राजधानी कास्कीमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । एक हप्ता अघिसम्म फाट्टफुट्ट मात्र कोरोना देखिदै आएको कास्कीमा पछिल्लो समय बाक्लै मात्रामा कोरोना संक्रमित देखिन थालेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कुल ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कास्कीमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।

कास्कीमा पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट गरिएको परीक्षणमा १५० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ जना गरेर १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेश संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा तनहुँमा ३१, नवलपुरमा ३४, स्याङ्जामा ६३, गोरखामा ४५, बागलुङमा ९, लमजुङमा ४, पर्वतमा ३, म्याग्दीमा २ र मुस्ताङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनाङमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।

सोमबार २२ जना संक्रमण मुक्त भएकोपनि निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९ हजार २९ पुगेको छ । त्यसमध्ये ८ हजार ७ सय ९१ जना संक्रमण मुक्त भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।