कर्मचारीमा कोरोना देखिएसँगै जिल्ला प्रशासन कार्यालय कास्कीको पासपोर्ट, राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




पोखरा, माघ ५

जिल्ला प्रशासन कार्यालय कास्कीका कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालयको राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जनाएका छन् । उनका अनुसार केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने केहिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रशासनले राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा अनिश्चित कालका लागि स्थगित गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गरेको विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा स्थगित हुनेछ । प्रशासनले जारी गरेको सूचनामा तयारी अवस्थामा रहेका राहदानी भने वितरण गरिने उल्लेख छ ।

प्रशासनले भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरेको जनाएको छ । साथै प्रशासनले राहदानी, राष्ट्रिय परिचय पत्र र भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवम् सेवाका लागि अनलाई आवेदनसमेत नगर्न आम जनसमुदायमा अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको राजधानी कास्कीमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जना संक्रमित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा हाल १ हजार ५ सय ४६ जना सकृय संक्रमित रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।